कोरोना कोषमा २ अर्ब १२ करोड, कांग्रेसले ५० लाख दियो, नेकपाले सुको दिएन


  • अर्थ पूर्ण
  • बिहिबार, बैशाख ११, २०७७

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि स्थापना गरेको कोषमा बुधबार साँझसम्म २ अर्ब १२ करोड १० लाख ११ हजार १ सय ३० रुपैयाँ ४५ पैसा जम्मा भएको छ । सो रकम केमा खर्च गर्ने भन्ने अहिलेसम्म खुलेको छैन ।

कोषमा नेपाल सरकार र नेपाल आयल निगमले सर्वाधिक ५०–५० करोड रुपैयाँ जम्मा गराएका छन् । कोषका लागि दूरसञ्चार प्राधिकरणले १५ करोड र नेपाल टेलिकमले १२ करोड रुपैयाँ जम्मा गर्दा एनसेलले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । कर्मचारी सञ्चय कोष र बीमा समितिले ५–५ करोड रुपैयाँ कोषमा जम्मा गराएका छन् । अन्य विभिन्न सरकारी कार्यालय, स्थानीय सरकार, विभिन्न बैंक तथा वित्तीय संस्था, अन्य व्यवसायिक संघ संस्थाहरुले पनि कोषमा योगदान गरेका छन् । कतिपयले व्यक्तिगत हिसाबले पनि खातामा पैसा जम्मा गराएका छन् ।

कसले कति दिए हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दैनिक रुपमा कोषमा रकम उपलब्ध गराउनेको सूची अनलाइनबाट सार्वजनिक गर्ने गरेको छ । कोषमा राजनीतिक दलहरुका तर्फबाट सबैभन्दा पहिले नेपाली कांग्रेसले ५० लाख रुपैयाँ जम्मा गरेको थियो । त्यसबाहेक कांग्रेसका सबै सांसदहरुले १५ दिनको तलब कोषमा उपलब्ध गराएका छन् । सांसद दिलेन्द्र बडुले भने १ महिनाकै तलब कोषमा जम्मा गरेका छन् । एकमात्रै सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख रुपैयाँ कोरोना कोषमा दिने भएको छ । संसदको सबैभन्दा ठूलो दल र सरकारको नेतृत्व गरिरहेको भएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भने कोषमा पैसा जम्मा गराएको छैन ।

नेकपाले कोरोना कोषमा रकम जम्मा गर्नेबारे कुनै औपचारिक निर्णय गरेको छैन । प्रधानमन्त्री कार्यालयले वेभसाइटमा राखेको जानकारीमा अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट कोरोना कोषमा रकम उपलब्ध गराएको छैन । नेकपाका सांसदहरुले १५ दिनको पारिश्रमिक संघीय संसद सचिवालयमार्फत कोषमा उपलब्ध गराएको दावी गरेका छन् । तर सचिवालयको रकम कोषको खातामा पुगिसकेको छैन ।

कोरोना रोकथामका लागि प्रयास गर्नुपर्ने बेलामा नेकपा पार्टी फुटको संघारमा छ । सरकारले अध्यादेश जारी गरेर समाजवादी पार्टी राष्ट्रिय जनता पार्टी विभाजन गर्न खोजेको थियो । यही विषयमा नेकपाभित्र समेत विवाद चर्किदै गएको छ ।

यो पनि पढ्नुहोस्….

कोरोना कोषमा नेकपाले एक सुको दिएन !

कांग्रेस उत्रियो सडकमा, बानेश्वरमा सरकारविरुद्ध नारा घन्कियो

 

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology