महाधिवेशनबारे छलफल गर्न काँग्रेस केन्द्रीय समिति बैठक बस्दै


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ ।

काँग्रेसको आज दिउँसो बस्ने केन्द्रीय कार्य समितिको बैठकमा कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको प्रक्रियाका बारेमा छलफल हुने बताइएको छ ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गते नै गर्ने र अन्य अधिवेशनका तालिकामा हेरफेर गर्न सकिने बारेमा छलफल गरेको थियो । सो विषयमा केन्द्रीय समिति बैठकले आवश्यक छलफल गरी निर्णय गर्ने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

काँग्रेसले गत माघ १३ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी मातहत निकायका अधिवेशन र १४ औँ महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सार्वजनिक गरेको थियो । सो तालिकाअनुसार २०७६ फागुन देखि २०७६ चैतसम्म पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि तोकेको थियो । तर कोरोनाका कारण क्रियाशील सदस्यता वितरण र नविकरण कार्य स्थगित गर्नुपरेको थियो ।

काँग्रेसले १४ औँ महाधिवेशनका लागि गाउँ-नगर वडा अधिवेशन आगामी कात्तिक १६ गते, गाउँ-नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गतेका लागि निर्धारण गरेको थियो ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५ गते, प्रदेश अधिवेशन मङ्सिर २९ गते र केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology