नेकपा स्थायी समिति बैठकमा चर्काचर्की, प्रचण्डले ओलीलाई भने- राजीनामा भारतले होइन, मैले मागेको हो


  • अर्थ पूर्ण
  • मङ्लबार, असार १६, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव चरम उत्कर्षमा पुगेर सार्वजनिक रूपमै छताछुल्ल भएको छ।

नेकपाको जारी स्थायी समितिको चौथो दिनको बैठकमा गत आइतबार ओलीले दिएको अभिव्यक्तिलाई लिएर ओली र प्रचण्डबीच भनाभन भएको हो । प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट राजीनामा दिनुपर्ने माग गरे। ‘अब तपाइँ हट्नुस्,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारले डेलिभरी दिन सकेन । अब सरकारमा बस्नुको औचित्य छैन । पहिला पनि मैले राजीनामा मागेको हुँ, अहिले पनि भन्छु अब तपाइँ प्रधानमन्त्रीबाट हट्नुस्।’

प्रधानमन्त्री ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी प्रचण्डले गरेका थिए । यस्तै ओलीबाट आएको यस्तो अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने समेत प्रचण्डले बताएका थिए।

प्रधानमन्त्री ओलीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । ‘हाम्रो बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले रु यसबारे पनि गम्भीर छलफल हुनुपर्छ’, जंगिँदै बैठकमा ओलीले प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएका थिए । ‘यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्,’ प्रचण्डले बैठकमा भने।

बैठकमा यसअघि बोलेका बरिष्ठ नेता झलनाथ खनाल, माधवकुरमा नेपाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीको आफूलाई हटाउन भारत लागेको छ भन्ने अभिव्यक्ति गम्भीर भएको बताएका थिए। उनीहरू तीनै जनाले पनि प्रधानमन्त्री ओलीले राजीनामा दिनु पर्ने माग गरेका थिए।

पछिल्लो समय ओली-प्रचण्ड बीचको अविश्वास र तिक्तताले बढिरहेका बेला मंगलबारको स्थायी कमिटी बैठकमा सार्वजनिक रूपमै छताछुल्ल रुपमा पोखिएको छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology