साकार हुँदै मेलम्ची सपना, धन्यवाद मन्त्री बिना मगरज्यू !


  • अजय बम
  • मङ्लबार, असार ३०, २०७७

अजय बम –

२०४७ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उपत्यकाका सडक मेलम्चीको पानीले पखालिदिने अभिव्यक्ति दिएपछि मेलम्चीको पानी काठमाण्डौ ल्याउने सपना सरकारको नेतृत्वमा बस्ने र काठमाण्डौ उपत्यका राजनीतीक गर्ने पार्टीले मुद्दा नै बनाए । हरेक सरकार बन्नासाथै मेलम्चीको पानी ल्याउने पहिलो वाचा हुने ग¥यो । यसबाट नै बुझिन्छ कि मेलम्चीसँग उपत्यकाका नेताहरूको मात्र होइन, समग्र मुलुककै राजनीतिक स्वार्थसमेत गाँसिएको छ । अझ उपत्यकामा चुनाव जित्ने माध्यमसमेत बन्यो, मेलम्ची । पूर्वप्रधानमन्त्री भट्टराईले काठमाडौँका सडक मेलम्चीको पानीले पखाल्ने कुरासमेत निर्वाचनताकै गरेका थिए ।

पूर्वप्रधानमन्त्री भट्टराइको लगानीको स्रोत र तयारीबिनै यस्तो अभिव्यक्ति आएको थियो । परिणामस्वरूप सरकारलाई आर्थिक स्रोत जुटाएर मेलम्ची खानेपानी आयोजना बनाएर काम थाल्नै ११ वर्ष लाग्यो । ०५८ मा काम थालेर ०६४ साल सम्म आइपुग्दा कामले खासै तीव्रता पाएन ।

परियोजना पूरा भइसक्नुपर्ने बेलासम्म कामै नहुनुमा ऋणदाताको सर्त, प्रभाव, माओवादी द्वन्द्व र राजनीतिक स्वार्थको जालो मुख्य थिए । ऋण सहयोग गर्ने एसियाली विकास बैंक (एडीबी)ले खानेपानी संस्थानको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएर निजी क्षेत्रलाई दिनुपर्ने सर्त तेर्सायो । साथै, मेलम्चीको पानी आइसकेपछि बर्सेनि महसुल बढाउने संयन्त्रको समेत सुनिश्चितता खोज्यो । ऋणीका सामु सरकार झुक्यो र ०६१ मा १५ प्रतिशत खानेपानीको महसुल बढ्यो ।
राजा ज्ञानेन्द्र शाहले १९ माघ ०६१ मा शासन हातमा लिएपछि आयोजना झनै अन्धकारमा धकेलियो । दातृ निकाय नोर्डिक र सीडाले आयोजनाबाट हात झिके । नोर्डिकले १८ चैत ०६१ मा नेपालमा प्रजातन्त्र नभएकाले सहयोग फिर्ता लिएको विज्ञप्ति निकाल्यो । यी दुई संस्थाले ५३ लाख अमेरिकी डलर सहयोग गरेका थिए ।

आयोजनास्थलमा पुग्ने सहायक मार्ग बनाउन ठेक्का दिँदा अनियमितता भएको भन्दै तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोगले छानबिन थाल्यो । हेनिल कोनेकोले १७ चैत ०५९ मा सकाउने गरी ०५८ मा यसको जिम्मा लिएको थियो । समयमै काम नसकेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले २८ वैशाख ०६१ मा सम्झौता रद्ध ग¥यो र लामा कन्स्ट्रक्सनलाई जिम्मा दियो । नयाँ ठेक्कामा अनियमितता गरेको आरोपमा देउवा, तत्कालीन भौतिक योजनामन्त्री प्रकाशमान सिंहसहित ६ जनालाई शाही आयोगले मुद्दा चलायो । १३ वैशाख ०६२ मा शेरबहादुर देउवा र प्रकाशमान सिंह गिरफ्तार नै भए । उनीहरूबाट जनही ३६ करोड रुपियाँ बिगो दाबी गरिएको थियो । यद्यपि देउवा र सिंहले आफूहरूमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै आयोगमा बयान दिन जान मानेनन् । उनीहरू ३ महिना आयोगको हिरासतमा बसे ।

लोकतन्त्र स्थापनापछि गठित अन्तरिम सरकारले काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनको जिम्मा बेलायतको सेभर्न ट्रेन्ट वाटरलाई दिने निर्णय ग¥यो । जुन एडीबीको सर्त थियो । तर, तत्कालीन भौतिक योजनामन्त्री हिसिला यमीले ९ मंसिर ०६३ मा विदेशी कम्पनीलाई खानेपानी व्यवस्थापनको जिम्मा दिने निर्णय रद्ध गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता गरिन् ।

अन्ततः ९ जेठ ०६४ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एडीबीका नेपालस्थित प्रतिनिधिसँग भेटेर सहजीकरण गरेका थिए । त्यसपछि सरकार र निजी क्षेत्रको साझेदारीमा व्यवस्थापन संरचना तयार गर्ने मध्यमार्गी बाटो रोजियो र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड खडा गरियो । बोर्डले त्यसपछि खानेपानीको व्यवस्थापन गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) नामक कम्पनी स्थापना गर्यो । त्यसयता उपत्यकाको खानेपानी व्यवस्थापन उसैले गर्दै आएको छ ।

यस्ता घटना परिघटना झेल्दै आयोजनाले बल्ल काठमाडौँको प्यास मेटाउने काम झण्डै तीन दशकपछि सम्पन्न गरेको छ । आयोजनाको मुख्य काम सिन्धुपाल्चोकको मेलम्ची नदीदेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २७ किमि लामो सुरुङको काम सम्पन्न गरि अहिले मेलम्ची खोलाको पानी सुरुङभित्र पठाउन सुरु गरिएको छ । निर्माण सम्पन्न भएको सुरुङमार्ग विस्तृत परीक्षणका लागि खोलाबाट सुरुङभित्र पानी पठाउन थालिएको छ ।
२१ गते आइतबार बिहान साढे ९ बजे खोलामा बाँधिएको अस्थायी बाँधमार्फत सुरुङभित्र पानी पठाउन सुरु गरिएको हो । सुरुङमा पानी हालेपछि परीक्षण गर्दै सुन्दरीजलसम्म पानी आइपुग्न १५ देखि २० दिन लाग्छ । खोलादेखि सुन्दरीजलसम्म सुरुङमा पानी पठाएर क्रमशः परीक्षण हुन्छ । यसैगरी काठमाडौंमा पानी झार्नका लागि झन्डै २ महिनासम्म परीक्षण गर्न समय लाग्नेछ । यो बीचमा सुरुङमा पानी भर्दै खाली गर्दै गर्नुपर्ने र विस्तृत रुपमा जाँच गर्नुपर्नेछ । यससँगै उपत्यकामा मेलम्चीको पानी आउने अब पक्कापक्की भएको छ ।

यहाँ सम्म आइपुग्दा धेरै उतार चढाव आएपनि यसको जस खानेपानी मन्त्री विना मगरमा गयो । हुन पनि जसले काम गरेर परिणाम निकाल्छ उसैलाई जस जान्छ । मन्त्री मगरलाई सचिवदेखि आयोजना प्रमुखले दिएको धोकाको त कुरै नगरौ सचिव सरुवा गर्दा मेलम्चीसँग जोडर पैसाकै चलखेलमा सरुवा गरिएको आरोप पनि लगाए । तर ती सचिव र आयोजना प्रमुखको विगतको इतियास हेर्दा त्यो आरोप निराधार भयो । खानेपानी सचिव गजेन्द्र ठाकुरले त मन्त्रीलाई पैसा नदिएका कारण आफ्नो सरुवा भएको मिडियामा बोले तर उनको विगत हेर्दा कसैले पत्याएनन् । त्यसले खासै प्राथमीकता पाएन मिडियामा ।

मेलम्ची पानी नआएपनि पानी व्यापारीले उपत्यकामा वार्षिक ४ अर्ब रुपैयाँ भन्दा बढीको पानी व्यापार गर्दै आएका छन् । मेलम्ची पानी उपत्यकामा आएपछि पानी व्यपारीहरु आक्रोशित हुने कुरा सहजै अनुमान लगाउन सकिन्छ । खानेपानीको व्यापारमा व्यापारी मात्रै नभएर सरकारी अधिकारीहरु प्रशस्तै संलग्न रहेका छन् ।

आयोजना प्रमुख रामचन्द्र देवकोटाले निजामती सेवाबाट अवकास पाएपछि मन्त्री मगरले आयोजनाका कार्यकारी निर्देशकमा सूर्यराज कँडेललाई नियुक्त गरिन् तर उनले खासै काम गर्न सकेनन् । बरु इटालियन ठेकेदारलाई पठाउन भुमिका खेले । उनको पालामा मेलम्चीको कामै अगाडी वढ्न सकेन । विवादै धेरै भयो । उनले त झन् बोतल, जार र ट्यांकरबाट विभिन्न सरकारी तथा गैरसरकारी निकायमा पानी आपूर्ति गर्ने उद्योग चलाए । उनकी पत्नी अञ्जु खड्काको नाममा क्रिस्टल आक्वा सर्भिसेस प्रा.लि सञ्चालनमा रहेको छ । त्यतिमात्र नभएर उनी उपत्यकाभर खानेपानी आपूर्ति गर्ने खानेपानी लिमिटेड केयूकेएलका अध्यक्ष समेत भएका थिए । मन्त्री मगरले काम रोक्नु हुँदैन जसरी भएपनि काम सक्नु पर्छ भनेर इटालीयन कम्पनीलाई काममा फर्काउन धेरै पटक व्यक्तिगत रुपमा पहल गरिन् तर आयोजनाका कार्यकारी निर्देशक कँडेल र सचिव गजेन्द्र ठाकुरको असहयोगले परिणाम आएन । कँडेलले काम गर्न नसकेपछि मेलम्ची खानेपानी आयोजनाका उपप्रमुख रहेका सहसचिव तीरेश प्रसाद खत्रीलाई मेलम्ची आयोजनाको जिम्मेवारी दिएर मन्त्री मगरले पठाइन् । मन्त्रीको निगरानी र खत्रीको मेहेनतले परिणाम निस्कीयो अब चाडै काठमाण्डौबासीको धारामा मेलम्चीको पानी आउने पक्का भयो ।

एउटा परियोजना पूरा हुन तीन दशक लाग्नु आफैंमा सुखद होइन । मेलम्ची नेपालको व्यवस्थापकीय दक्षता, ढिलासुस्ती र अनियमितताको चिनारीसमेत बन्यो । मेलम्ची खानेपानी योजना असफल बनाउन पानी व्यापारीको चलखेल रहेको पाइयो । लोडसेडिङ अन्त्य गराउने समयमा लोडसेडिङ अन्त्य गर्न नदिने भन्दै इन्भर्टर व्यवसायी लागेजस्तै पानी व्यापारीहरु लागेका थिए ।

मैले रेडियो नेपालबाट प्रसारण हुने खानेपानी रेडियो कार्यक्रम सञ्चालन गर्न लागेको आठ वर्ष भयो । यस बीचमा मन्त्री सचिव र आयोजना प्रमुखसँग मेलम्ची कहिले आउछ भनेर अन्तरबार्ता लिएको पनि धेरै भएछ । रेडियो कार्यक्रमका लागि खानेपानी मन्त्री विना मगरसँग पनि समय मागेर मैले अन्तरवार्ता गरे । पहिलो प्रश्न नै ‘मेलम्चीको पानी कहिले आउछ ?’ भनी सोधे तर अन्तरवार्ताको विचमा रोकीदै भनेकी थिइन्,‘अब मेरो कार्यकालमै यो प्रश्नको अन्त्य गर्छु ।’ मैले सोचे गफ दिइन् मन्त्रीले किनकी पहिलेका मन्त्री सचिवले गफ दिदै आएका थिए । हुन पनि इटालियन ठेकेदार कम्पनीले बाँकी काम छोडेर भागेको थियो म कसरी पत्याउनु ?

अन्तरवार्ता सकिएपछि अनौपचारिक कुराकानीमा मन्त्री मगरले निकै भावुक हुँदै भनेकी थिइन् “स्वच्छ खानेपानी जनतामा पुर्याउन धेरै काम भएका छन् । अनि देशलाई खुल्ला दिशामुक्त पनि घोषणा गरियो । यी विषयले कहिले पनि प्राथमिकता पाएनन् । जति राम्रा काम गरेपनि मेलम्चीसँग जोडिदिने खानेपानी मन्त्रालयको कलंक म मेटाउछु ।” हो मन्त्रीले भनेझै अब मेलम्चीका धेरै काम सम्पन्न भएका छन् । मेलम्चीको टनेलको अब चाँडै उद्घाटनको तयारीमा मन्त्रालय छ । धन्यवादको पात्र मन्त्री मगर नै भइन् आम उपत्यका बासी लगायत आम नागरिकका लागि । तर मन्त्रीका विषयमा जसले जे भनेपनि मेरो तर्फबाट पनि यो कार्यका लागि धन्यवाद छ मन्त्रीज्यूलाई । खानेपानी मन्त्रालय स्थापनापश्चात बनेका मन्त्रीहरुमध्ये संस्थापक मन्त्री प्रेमबहादुर सिंहलाई पनि सम्झनु पर्ने हुन्छ । उनले मेलम्चीको टनेलको काममा एप नै बनाएर प्रत्येक दिनको कामको विवरण जानकारी गराउने र कामको निर्गानी गर्ने गरेका थिए । उनको पालामा टनेलको कामले तीव्रता पाएको थियो । बाँकी अरु मन्त्रीले खासै काम गरेको देखिदैन ।

अहिले उपत्यकाको खानेपानी माग दैनिक ३० देखि ३५ करोड लिटर हो । आपूर्ति १० देखि १५ करोड लिटर मात्रै छ । मेलम्ची आएपछि १७ करोड लिटर थपिनेछ । यस हिसाबले मेलम्ची आएपछि समेत उपत्यकालाई पानी ठीक्क मात्रै पुग्नेछ । केही वर्षपछि नै पुनः समस्या बल्झिन सक्छ । सरकारसँग नजिकैका यांग्री र लार्के नदीको पानी मेलम्चीमा मिसाएर ल्याउने योजना त छ । तर, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हँदैछ । यी दुवै नदीबाट १७–१७ करोड लिटर पानी ल्याउने योजना छ । पूर्ण क्षमतामा आउँदा मेलम्चीबाट ५१ करोड लिटर पानी आपूर्ति हुन्छ । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड कार्यकारी निर्देशक डा.सञ्जिव विक्रम राणाका अनुसार भविश्यमा मेलम्चीको टन्डेलमा केही समस्या आए काठमाण्डौमा फेरी पानीको समस्या हुने भएकाले अहिले महादेव खोला सिस्नेरीको पानी काठमाण्डौ ल्याउने गरि वैकल्पिक आयोजनाको रुपमा अगाडी वढाइएको छ । त्यसैगरी इमजेन्सीको लागि कुलेखानीको पानी ल्याउने गरि दुवै आयोजनाको डिपिआर तयारीको लागी काम वोर्डले अगाडी वढाएको छ । यसले सन् २०५० सम्म उपत्यकाको खानेपानी माग दैनिक ५० करोड लिटर पुग्ने एडीबीको अध्ययनले प्रक्षेपण गरेकोलाई परिपूर्ती गर्ने देखिन्छ ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology