प्रभा माविको जग्गा कौडीको भाउमा, भूमाफिया पोस्ने खेल, आठ आनाको भाडा २५ सय मात्रै !


  • अर्थ पूर्ण
  • बुधबार, साउन १४, २०७७

काठमाडौं । काभ्रे जिल्लाको कोशीपारी क्षेत्रकै पुरानो शैक्षिक धरोहर ‘प्रभा माध्यमिक विद्यालय’ भूमाफिया र जनप्रतिनिधिहरुको गिद्धेदृष्टिका कारण विषम परिस्थितिमा पुगेको छ । वि.सं. २०१० सालमा स्थापना भएको प्रभा मा.वि.को जग्गामा भूमाफियाहरुको गिद्धेदृष्टि लागेपछि विद्यालय र विद्यार्थीको भविष्य नै संकटमा पर्ने देखिएको छ ।

समाजसेवी स्व.कोमलराज गिरीको अगुवाईमा स्थापित विद्यालयलाई संस्थापकहरुले दान गरेको जग्गा अहिले कौडीको भाउमा भोगाधिकार बाड्न थालिएको छ । काभ्रेको चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमकै अगुवाईमा विद्यालयको सम्पत्ति मास्ने काम भइरहेको हो । विद्यालयका संस्थापक, अभिभावक एवं विद्यार्थीहरुको भावना विपरीत गाउँपालिकाले विद्यालयको जग्गामा विभिन्न संरचना बनाउन थालेको हो । हाल गाउँपालिकाको निर्णय अनुसार विद्यालयको जग्गामा कृषि उपज केन्द्रको भवन निर्माणको काम थालिएको छ ।

सर्वोच्च अदालतले यसअघि गरेको आदेश र नजीर अनुसार विद्यालयको सार्वजनिक जग्गा ‘भाडामा लगाउन वा बिक्री गर्न’ पाइदैन । सर्वोच्च अदालतले अघिल्लो साउनमा चितवन मा.वि.को जग्गा सम्बन्धी मुद्धामा फैसला गर्दै ‘विद्यालयको सम्पत्ति अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हितलाई ध्यानमा राखी व्यवस्थापन गरिनुपर्छ, त्यस्तो व्यवस्थापनको केन्द्रमा त्यहाँ पढ्ने विद्यार्थीहरू हुनुपर्छ’ भनी आदेश गरेको थियो ।

विद्यालयको जग्गा कृषि उपज केन्द्रको भवन बनाउन भाडामा लगाउने निर्णय प्रभा मा.वि.को विद्यालय व्यवस्थापन समितिले नै गरेको छ । समितिका अध्यक्ष तेजबहादुर पन्त गाउँपालिकाले निर्णय गरेर माग गरेका कारण आफूहरुले जग्गा भाडामा दिएको बताउँछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्तले शिक्षा नियमावली १५८ को व्यवस्था अनुसार भाडामा दिइएको बताए ।

गाउँपालिकाभर पर्याप्त जग्गा र दाताहरु भएपनि विद्यालयको जग्गामै कृषि उपज केन्द्र बनाउन खोजिएको हो । विद्यालयको व्यवस्थापन समितिका पूर्व अध्यक्ष भलाराज गिरीले विद्यालयको जग्गा भाडामा नलगाउने शर्तमा कृषि उपज केन्द्रका लागि एक रोपनी जग्गा दान दिन तयार रहेको जनाएका छन् । तर उनको प्रस्तावको वेवास्ता गर्दै विद्यालयकै जग्गामा कृषि उपज केन्द्र बन्न थालेपछि यो विवाद अहिले सर्वोच्च अदालतसम्म पुगेको छ ।

विद्यालयको जग्गामा कृषि उपज केन्द्र बन्न नहुने दावी गर्ने रीट निवेदन भलाराज गिरीका अनुसार सो केन्द्र विद्यालयको जग्गामा बन्दा विद्यालयको शैक्षिक वातावरण खल्बलिन सक्छ । गिरी स्वयंले कृषि उपज केन्द्रका लागि १ रोपनी जग्गा दान गर्न तयार रहेको समेत बताउछन् । ‘विद्यालय र विद्यार्थीको भविष्यमाथि खेलबाड नहोस् । मेरो आफ्नै नीजि सम्पत्तिबाट एक रोपनी जग्गा दान गर्न तयार छु तर विद्यालयको जग्गा कौडीको भाउमा नलगाइयोस् भनेर आवाज उठाएको हुँ ।’, गिरीले भने । विद्यालयको जग्गामै असम्बन्धित संरचनाहरु बनाउने निर्णयमा भू माफियाहरुको चलखेल रहेको उनको आरोप छ । गिरीले यसअघि दुग्ध विकास संस्थानको शाखा स्थापनाका लागि १ रोपनी नौ आना जग्गा उपलब्ध गराएका थिए ।

अदालतद्वारा कारण देखाउ आदेश

विद्यालयको जग्गा दुरुपयोग गरिएको र कौडीको भाउमा भाडा लगाइएकोले सो निर्णय बदर गरिपाउँ भनी स्थानीय समाजसेवी भलाराज गिरी गिरीले सर्वोच्चमा मुद्धा दायर गरेका थिए । मुद्धामा जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोक, प्रभा मा.वि. तथा प्रभा बहुमुखी क्याम्पस, कृषि उपज केन्द्र लगायतलाई विपक्षी बनाईएको थियो । बुधबार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ भने साउन २१ गते विपक्षीहरुलाई छलफलका लागि बोलाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर पन्तले अर्थपूर्णसंगको कुराकानीमा अदालतको पत्र प्राप्त भएपछि कानुनी प्रक्रियामा सहभागि हुन तयार रहेको जनाएका छन् । मुद्धाको पक्षमा अधिवक्ताहरु अनन्तराज लुइँटेलसमेत विकास भट्टराई, कृतिनाथ शर्मा, प्रतिभा उप्रेती, र विशाल उपाध्यायले बहस गरेका छन् । अभिवक्ता अनन्तराज लुइँटेलका अनुसार अब २१ गते विपक्षीसमेतको छलफलपछि अन्तरिम आदेशबारे टुंगो लाग्नेछ । ‘विद्यालयको जग्गामा कृषि उपज केन्द्र बन्दा त्यहाँ प्रयोग हुने विषादी र उत्पन्न हुने फोहोर लगायतका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या उत्पन्न हुनसक्ने, संविधानप्रदत्त बालबालिकाको अधिकार हनन हुने, बालबालिका ऐन र शिक्षा नियमावली समेतको बर्खिलाप हुने गरी बन्ने कृषि उपज केन्द्रको भवन निर्माण रोकिनुपर्ने वादीको दावी हो ।’, अधिवक्ता लुइँटेलले अर्थपूर्णसंग भने ।

८ आना जग्गाको वार्षिक भाडा ३० हजार

प्रभा माध्यमिक विद्यालयले कृषि उपज केन्द्रका लागि उपलब्ध गराएको जग्गाको वार्षिक भाडा ज्यादै न्यून रहेको छ । ८ आना जग्गा भाडामा लिएवापत कृषि उपज केन्द्रले विद्यालयलाई वर्षको जम्मा ३० हजार उपलब्ध गराउनेछ । जसअनुसार विद्यालयको मासिक आम्दानी जम्मा २५ सय हुनेछ । देशका विभिन्न स्थानमा विद्यालयको नाममा रहेको जग्गा कौडीको भाउमा बेच्ने, सट्टापट्टा गर्ने तथा बिक्रीसमेत गर्ने घटनाहरु बढ्दै गइरहेका छन् । समुदायको पहलमा स्थापित विद्यालयको जग्गालाई गैरशैक्षिक अभियानका लागि कौडीको भाउमा लगाउनु नै अनियमितताको उदाहरण भएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology