नेकपा अध्यक्ष ‘प्रचण्ड’ को ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक


  • अर्थ पूर्ण
  • बिहिबार, साउन १५, २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गर्नुभएका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ ।

प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका –संसद्मा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले कोरोना भाइरसका कारणले पुस्तकलाई औपचारिकरूपमा सार्वजनिक नगरी बजारमा उपलब्ध गराइएको बताए ।

उनले पुस्तकमा भएका सामग्रीका सन्दर्भमा कोभिड–१९ सहज भएपछि अन्तक्र्रिया गरिने जानकारी दिए । संसदीय राजनीतिलाई सशस्त्र युद्धमा लैजान सक्ने, सशस्त्र युद्धलाई शान्तिपूर्ण रुपान्तरण गराउन सक्ने, सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलनलाई संयोजन गराउन सक्ने, जनयुद्ध र जनआन्दोलनले उठाएका सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता जस्ता विषयलाई संस्थागत गर्न सक्ने नेता दाहालले नयाँ संविधानको निर्माण गर्दा खेल्नुभएको भूमिका पुस्तकमा समेटिएको उनले बताए ।

दुई सय ४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको घटना तथा सो संविधानअन्तर्गत रहेर स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन गराउन भोगिएका परिघटना र सङ्घर्ष पुस्तकमा उल्लेख गरिएको छ ।

सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिँड्न सक्ने तथा प्रतिपक्षमा रहँदा सत्तापक्षसँग मिल्न सक्ने लचकदार एवं समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताका रूपमा दाहालले खेलेको भूमिका पुस्तकमा पाइन्छ । विभिन्न राजनीतिक शक्तिबीच भएका सङ्घर्ष तथा पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवं रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन् ।

पुस्तक प्रकाशनका निम्ति अहोरात्र खट्ने दलका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यमा अध्यक्ष दाहालले धन्यवाद दिँदै पुस्तक प्रकाशनका निम्ति घच्घचाउने पत्रकार, बुद्धिजीवी र शुभेच्छुकमा कृतज्ञता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology