भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध


  • अर्थ पूर्ण
  • शुक्रबार, साउन १६, २०७७

किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ । भोटखोला–२ र ४ वडाको सिमानाको माक्पालुङ रहेको नेपाल टेलिकमको टावरमा खराबी आएर सेवा अवरुद्ध भएको दूरसञ्चार शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी चित्र मोक्तानले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा १५ दिनदेखि गाउँपालिका नै सञ्चारविहीन बनेको छ । उच्च हिमाली क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको उनले बताए । अवरुद्ध टेलिफोन कहिले सञ्चालन हुन्छ भन्ने यकिन भइनसकेको उनको भनाइ छ ।

अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको भोटखोला–३ हटियाका स्थानीय सुवास भोटेले गुनासो गरे । पन्ध्र दिन बित्दा समेत सरोकारवाला निकाय चासो नदेखाउँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको भोटखोला–२ च्याम्ताङका आङजुङ भोटेले बताए ।

भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाक लगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । टेलिफोन सेवा घामसँगै अस्ताउने गरेका छन् । विद्युत विस्तार नभएका दुर्गम भोटखोलाको टेलिफोन सेवा घाम अस्ताएसँगै बन्द हुने गरेको हो । दुर्गम गाउँमा विटिएस टावर अझै सोलारपावरको भरमा चल्ने गरेको छ ।

मोबाइल प्रयोग गर्ने भोटखोलाका नागरिकले मौसमको भरमा सेवा पाउने गरेका छन् । जाडोको समय र बर्खायाममा दिनभर घाम लागेन भने सोलारमा चार्च नभएका कारण टेलिफोन सेवा बन्द हुने गरेको छ । टेलिफोन सेवा लिन बेलुकी घाम अस्ताएपछि बिहान ९ बजेसम्म पर्खनुपर्ने हुन्छ । त्यति मात्र होइन कहिलेकाहीँ त दुईरचार दिनसम्म पनि मौसम खराब हुने गर्दछ ।

जिल्लाका छ स्थानका बिटिएस टावर सोलरपावरको भरमा मात्र सञ्चालन हुन्छन् । चिचिलाको छ्याङकुटी, मकालुको भाटभोटेनी, भोटखोलाको बाक्ले, माक्पालुङ र सिलिचुङ गाउँपालिका लगायतमा स्थानमा सोलारपावरको भरमा बिटिएस प्रणालीमार्फत मोबाइल नेटवर्क सञ्चालन गरिँदै आएको छ ।

त्यसैगरी टेलिकम सङ्खुवासभा मार्फत नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा बिटिसमार्फत मोबाइल सेवा प्रदान गरिरहेको छ । त्यस्तै सभापोखरी गाउँपालिकामा समेत चार महिनादेखि टेलिफान सेवा अवरुद्ध भएको छ । सभापोखरीको स्वाचीमा राखिएको टावरमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो । अवरुद्ध टेलिफोन सेवा सञ्चालन गर्न पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्थानीय सभापोखरी–६ का स्थानीय छत्रबहादुर गुरुङले दुखेसो पोखे ।

इन्टरनेट सेवा पनि अवरुद्ध

सङ्खुवासभा जिल्लाका अधिकांश स्थानमा पाँच दिनदेखि नेपाल टेलिकमको एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम खाँदबारी, चैनपुर, मादी र पाँचखपन लगायतका स्थानमा पाँच दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । तेह्रथुमको वन्सन्तपुर र मुढे बीचको स्थानमा फाइवरमा समस्या आएपछि इन्टरनेट सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीले जनाएको छ ।

आइतबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने दूरसञ्चार शाखा कार्यालयका सूचना अधिकारी मोक्तानले बताए । अहिले सदरमुकाम खाँदबारीमा निजी क्षेत्रका सेवा प्रदायक कम्पनीले मात्र इन्टरनेट सेवा प्रदान गरिहेका छन् ।

धबारबाट सदरमुकाम खाँदबारीको टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । अवरुद्ध भएको सञ्चार सेवा कहिले सञ्चालन हुन्छ भन्न अझै अन्योल भएको उनले बताए ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागी

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology