विचार

लाज पचेको कांग्रेस र भाई सरकारको भूमिका


  • नकुल अर्याल
  • आइतवार, साउन १८, २०७७

काठमाडौं । संसदीय राजनीतिमा प्रमुख प्रतिपक्षी दलको भूमिका ‘जनपक्षीय’ हुने अपेक्षा गरिन्छ । सरकारले गरेका कमजोरीहरु औल्याउने मात्रै होइन आवश्यक पर्दा सदनदेखि सडकमसम्मको नेतृत्व प्रमुख प्रतिपक्षी दलले नै गर्नुपर्छ । जनताका एजेण्डा विपक्षी दलका लागि सधै सरोकार बन्नुपर्छ । नेपालमा भने ‘प्रमुख प्रतिपक्षी दल’ नै सत्ताको निकट सहयोगीमा परिणत भएको छ । प्रमुख प्रतिपक्षी दल अर्थात नेपाली काँंग्रेस । यतिबेला राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका र उपादेयता पुष्टी गर्न संघर्षरत छ ।

नेपाली कांग्रेसका सभापति, छायाँ सरकारका प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा हालै एक आन्दोलनमा ऐक्यवद्धता जनाउँदै गरेको भेटिए । सामाजिक सञ्जालमार्फत संगठित भएको ‘इनफ इज इनफ’ आन्दोलनका अभियन्ताहरु यतिबेला अनसनमा छन् । कोरोनाविरुद्धको लडाईमा सरकारलाई खबरदारी गरेका ती अभियन्ताहरु कुनै राजनीतिक दलमा आबद्ध छैनन् । तर दिनहुँ जसो कांग्रेसका विभिन्न तहका नेता पुग्दै, ऐक्यवद्धता जनाउँदै गरिरहेका छन् । प्रतिपक्षी दलका नेताहरुलाई लाज लाग्नुपर्ने हो । सरकारका कमजोरी र भ्रष्टाचारका काण्डहरु नियमित रुपमा सार्वजनिक भइरहँदा आन्दोलनको मियो बन्न नसकेर, ऐक्यबद्धताको लाइनमा उभिनु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘हुत्तिहारा’ प्रवृत्ति मात्रै हो ।

 

ओली-देउवा 'गोप्य भेट' – Dcnepal

हसिलो मुद्रामा प्रधानमन्त्री केपी शमौ ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

 

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच नियमित भेटवार्ता भइरहेका छन् । त्यस्ता भेटवार्ताहरु पारदर्शी छैनन् । सरकार जोगाउन दिनरात संघर्ष गरिरहेका प्रधानमन्त्री ओलीलाई भेट्दैपिच्छे हसिलो मुहार गरेर फर्कने ‘देउवा प्रवृत्ति’ माथि प्रश्न गर्ने हिम्मत कांग्रेसभित्रैका प्रतिपक्षीहरुले समेत गर्न सकेका छैनन् । हालै नीति तथा कार्यक्रममार्फत छायाँ प्रधानमन्त्री देउवा आफ्नो निर्वाचन क्षेत्र डडेल्धुराको जिल्ला अस्पताललाई संघीय सरकार मातहत ल्याउन सफल भए । त्यसो त देउवा प्रधानमन्त्री ओलीसंगको निकट सम्बन्धकै कारण सासु प्रतिभा राणाको ‘जापानका लागि नेपाली राजदूत’ को पद जोगाउन पनि सफल नै छन् । वीपीका अनुयायीहरुलाई पाखा लगाएर ‘सूर्यबहादुरका विरासत’ हरुलाई अँगालो मार्न दौडिएको कांग्रेसको गन्तव्य के हो ? जवाफ आउँदैन, बरु प्रश्नलाई नै खारेज गर्नसक्छ, ‘देउवा’ को अनुशासन समितिले ।

सत्तारुढ दलभित्रै ‘नालायक’ को आरोप लागिरहेका प्रधानमन्त्री ओलीप्रतिको देउवा सदासयता यत्ति धेरै छ की प्रतिपक्षीको थलो भनिने ‘संसद’ ओलीले हठात् स्थगन गरेको महिनादिनसम्म प्रमुख प्रतिपक्षी कांग्रेसलाई आवश्यक परेको छैन । देशकै पुरानो प्रजातान्त्रिक पार्टी प्रतिपक्षमा यत्ति ‘चाउरिएको मरिच’ भएको छ की नेविसंघ र तरुण दललाई तदर्थवादमा राखेर सामाजिक सञ्जालका युवाको आन्दोलनमा ‘मुख देखाउन’ दौडिनुपरेको छ देउवालाई । आसन्न महाधिवेशनमा दोहोरिन खोजेका देउवालाई सान्दर्भिक देखाउन सामाजिक सञ्जालमा ‘कांग्रेस प्रचार विभाग’ को जत्था नै परिचालित छ तर सडकमा कांग्रेसको आवाज मुखरित गर्ने ‘प्रवक्ता’ कोही देखिदैन ।

रचनात्मक प्रतिपक्ष हुनु भनेको जनताका सवाललाई नजर अन्दाज गर्नु होइन । रचनात्मक प्रतिपक्ष हुनु भनेको प्रधानमन्त्रीलाई ‘कविता’ र ‘प्रेमपत्र’ चढाउनु मात्रै होइन । भ्रष्टाचारबाट उन्मुक्ति खोजिरहेका जनताको आवाज बोल्न नसक्ने प्रतिपक्षी पार्टी हुनु र नहुनुको कुनै अर्थ छैन । जनताको एजेण्डामा उभिन नसकेर सत्ताको इजारबाट चुहिएको ‘चास्नी’ मै मुख मिठ्याइरहेकाहरु प्रतिपक्षी होइनन्, भाई सरकार हुन् ।

प्रतिक्रिया

सोसाईटी मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

सोसाईटी मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।
सूचना विभाग दर्ता नम्बर : 1514/076/077


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology