सी विचारधाराको प्रबर्धनमा प्रचण्ड, बाबुराम र कमल थापा , देउवाले गरे अस्वीकार !


  • नकुल अर्याल
  • बिहिबार, अशोज २९, २०७७

काठमाडौं । चीनियाँ राष्ट्रपति सी जीन पिङको महत्वाकांक्षी विचारधारामा आधारित ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ को समर्थनमा हुन लागेको एक वेविनारमा नेपालका शीर्ष राजनीतिज्ञहरु सहभागि हुँदैछन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको आयोजनामा हुने २ दिने वेविनारमा नेपाली कांग्रेस बाहेकका सबै दलको सहभागिता निश्चित भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख सङ ताओले २ दिनसम्म चल्ने वेविनारको अध्यक्षता गर्दैछन् । कार्यक्रममा नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको सहभागिता निश्चित भइसकेको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सो वेविनारका लागि विशेष शुभकामना सन्देश समेत पठाउनेछिन् । सो शुभकामना सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले वाचन गर्ने तय भएको छ । दुइ दिने वेविनार अक्टुबर १६ र १७ तारिखमा हुँदैछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने चिनियाँ कम्युनिष्ट पार्टीको आयोजनामा हुने वेविनारमा सहभागिता निश्चित गरेको छैन । सभापति शेरबहादुर देउवालाई निम्तो पुगेपनि कार्यक्रममा सहभागि हुन देउवा इच्छुक छैनन् । कांग्रेसभित्र चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधिमा कांग्रेस प्रत्यक्ष जोडिन आवश्यक नरहेको सुझाव देउवालाई दिइएको छ । यसअघि चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई प्रशिक्षण दिदा कांग्रेसले विरोध जनाएको थियो । यिनै विविध कारणले वेविनारमा कांग्रेस भने सहभागि नहुने निश्चितप्रायः छ । यद्यपि नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छी कांग्रेस सहभागि गराउनका लागि प्रयासरत छिन् ।

‘बेल्ट एण्ड रोड इनिसियटिभबारे नेपाली राजनीतिक दलहरुको धारणा’ विषयक कार्यक्रमको उद्देश्य सी विचारधारा र चिनियाँ रणनीतिको पक्षमा नेपालका नेताहरुलाई उभ्याउनु हो । चीनको बीआरआई रणनीति सर्वस्वीकृत मानिदैंन । अमेरिका र भारतजस्ता देशले यसको औचित्यमाथि नै प्रश्न उठाउँदै आएका छन् । नेपालमा कम्युनिष्ट सरकार बनेपछि चीनले आफ्नो भूमिका बढाउने अवसर पाएपनि चिनियाँ राष्ट्रपतिका विश्वासपात्र सङ तावको नेतृत्वमा हुने कार्यक्रमलाई नेपाली कांग्रेसले बहिस्कार गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाली कांग्रेसको एक कार्यदलले हालै हुम्लामा चीनले नेपाली भूमि कब्जा गरेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology