खसीबोका बिक्री गरेर डेढ करोड आम्दानी


  • अर्थ पूर्ण
  • आइतवार, कार्तिक २, २०७७

तनहुँ । दशैँ नजिकिँदै गर्दा तनहुँका विभिन्न ठाउँका कृषकले खसीबोका बिक्री गरेर डेढ करोडभन्दा बढी आम्दानी गरेका छन् ।

जिल्लाको घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका तथा लमजुङको मध्यनेपाल नगरपालिका र सुन्दरबजार नगरपालिकाका कृषकले असोजमा मात्रै एक करोड ७३ लाख ३० हजार बराबरको खसीबोका बिक्री गरेका छन् ।

खसीबोका बिक्रीका लागि स्थानीय स्तरमा सहकारी संस्थाले बजारीकरणको व्यवस्था गरिदिएका थिए । यस अवधिमा कृषकले एक हजार १२५ खसीबोका बिक्री गरेका छन् ।

भिमाद नगरपालिका भानुमतिको अतिप्रिय सामाजिक उद्यमी महिला सहकारी संस्थाले सबैभन्दा बढी खसीबोका बिक्री गरेको छ । सहकारीले ३७ लाख ७७ हजार खसीबोका बिक्री गरेको अध्यक्ष देवीमोक्तान आलेले जानकारी दिएका छन् । तनहुँ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा खसीबोका बिक्री गरिएको हो ।

“खसीबोका बजारीकरण गर्न सहकारीले सहयोग गर्दै आएको छ, तनहुँभन्दा बाहिरका जिल्लाका व्यापारी पनि खसीबोका किन्न आइपुग्छन्”, आलेले बताएका छन् । प्रतिकिलो र एक हजार ४१० का दरले बिक्री गरेको उनले उल्लेख गरेका छन् । सो सहकारीमा आबद्ध २०८ कृषकले खसीपालन गरेका छन् । उक्त सहकारीले १९४ खसीबोका बिक्री गरेको थियो ।

यस्तै व्यास नगरपालिका रिस्तीस्थित शुभदीप सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत २५ लाख ६२ हजार बराबरको खसीबोका बिक्री भएको छ ।
सहकारीका अध्यक्ष पार्वती पौडेलले कृषकलाई सजिलोका लागि सहकारीले बजारीकरणको व्यवस्था मिलाउँदै आएको जानकारी दिएकी छिन् । नगरपालिकाले खसीको उत्पादन बिक्रीमा अनुदान दिएपछि यहाँका कृषक बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।

यसैगरी घिरिङ गाउँपालिका बेलभञ्ज्याङस्थित भगवतीपुर सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत २१ लाख ६ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष नानुमाया गैह्रेका अनुसार यस अवधिमा १७३ खसीबोका बिक्री भएको छ ।

भिमाद नगरपालिका माझकोटस्थित माझकोट महिला विकास बहुउद्देश्यीय सहकारीमार्फत २२ लाख ४८ हजार बराबरको खसीबोका बिक्री भएको सहकारीका अध्यक्ष सङ्गीता रानाले जानकारी दिएकी छिन् । सो सहकारीले १७४ खसीबोका बिक्री गरेको छ । सहकारीमा आबद्ध ५७० शेयर सदस्यमध्ये ४०८ जनाले बाख्रापालन गर्दै आएका छन् ।

कोरोनाको प्रकोपका बीचमा कृषकले पालेका खसीबोका बिक्री हुन्नन कि भन्ने चिन्ता थियो । रानाले व्यापारी खोजी गरी खसी बिक्री गर्न सफल भएको र यसले गर्दा कृषकलाई पनि सहज भएको पनि बताएकी छिन्

यस्तै घिरिङ गाउँपालिका सुन्धारास्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत १० लाख २३ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शारदा आलेले कोरोना प्रकोपका बीचमा पनि ७७ खसीबोका बिक्री गर्न सकिएको जानकारी दिएका छन् ।

भिमाद नगरपालिका जिलाङस्थित अरुणोदय सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत र ७९६ हजार बराबरको खसीबोका बिक्री भएको छ । यस अवधिमा ५५ खसीबोका बिक्री गरिएको छ । व्यास नगरपालिका घाँसीकुवास्थित आधारशिला उद्यमी महिला सहकारी संस्थामार्फत पाँच लाख ८३ हजार तथा शुक्लागण्डकी नगरपालिका थप्रेकस्थित दिदीबहिनी कृषि सहकारी संस्थामार्फत चार लाख ९५ हजार बराबरको खसीबोका बिक्री भएको छ ।

त्यसैगरी लमजुङको मध्यनेपाल नगरपालिका–१ जितास्थित सप्तधारा सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत २९ लाख ९२ हजार बराबरको खसीबोका बिक्री भएको छ । सहकारीका अध्यक्ष शुभद्रा पौडेलले सहकारीमार्फत खसीबोकाको बजारीकरण गर्दा नगरपालिकाले उत्पादन बिक्रीमा अनुदान दिएको जानकारी दिएका छन् ।

सहकारीमार्फत बिक्री वितरण गर्दा अनुदान प्राप्त हुँदा कृषक पनि सहकारीमार्फत बजारीकरण गर्न आकर्षित भएको र जसले गर्दा किसान ठगिन नपरेको उनले बताए ।

यस्तै सुन्दरबजार नगरपालिका कुन्छास्थित भागिरथी सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत सात लाख ४४ हजार बराबरको खसीबोका बिक्री भएको छ । भिमाद नगरपालिकाका कृषक श्रीमाया आलेले गाउँबाटै खसीबोका बिक्री गर्न पाउँदा सहज भएको बताएकी छिन् ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँ र हेफर इन्टरनेसलन नेपालको साझेदारीमा ती सहकारीमा पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना सञ्चालित छ । परियोजनाअन्तर्गत किसानले उत्पादन गरेका पशु वस्तुको बजारीकरणमा सहयोग, सहकारीको संस्थागत विकास तथा सुदृढीकरण, सहकारीको आवश्यक नीतिनिर्माण र कार्यान्वयन, उद्यमशील बनाउनका लागि वित्तीय सेवामा पहुँच कार्यक्रम सञ्चालन भइरहेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत सन्त भट्टराईले जानकारी दिएका छन् ।

नेपाल एकीकृत ग्रामीण विकास केन्द्र तनहुँका कार्यक्रम संयोजक प्रेमप्रसाद पौडेलले सहकारी संस्थाले खसीबोकाको बजारीकरण गरी नाफा आर्जन गर्नुभन्दा पनि किसानद्वारा उत्पादित पशुवस्तुको उचित मूल्य प्राप्त गराउन परियोजनाले सहयोग गर्दै आइरहेको र हचुवाको भरमा खरिद बिक्री हुँदै आएको कार्यलाई निरुत्साहित गर्दै जिउँदो खसीबोकाको नापतौलको आधारमा मूल्य निर्धारण गरी किसानले बिक्री गर्न सफल भएका पनि पौडेलले बताएका छन् ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9801165901

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

प्रधानसम्पादक : नकुल अर्याल
सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology