पर्सा हत्याकाण्डको छानबिन गर्न कांग्रेसको माग


  • अर्थ पूर्ण
  • शनिबार, कार्तिक ८, २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सामा नेकपा कार्यकर्ता हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।

बिहीबार पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाकै दुई समूहबीच झड्प हुँदा गाउँपालिकाका सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्या भएको थियो।

प्रहरीले उक्त हत्यामा संलग्नलाई कारबाही गर्नका लागि जाहेर समेत लिन अस्वीकार गरेको भन्दै कांग्रेसले शनिबार एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ।

‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं? पर्साबाट घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं’, प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 कांग्रेसले घटना भएको तीनदिन बित्दासमेत प्रहरीले जाहेरी लिन अस्वीकार गरेका कारण अस्पतालबाट शव समेत नउठेको भन्दै घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

‘घटना विवरण अत्यन्तै दुःखद् छ। अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2020 and all right reserved to Artha Purna Site By : SobizTrend Technology