जातीय लडाइँ सिर्जना गर्दा राष्ट्रिय एकता ध्वस्त हुन्छः प्रधानमन्त्री


  • अर्थ पूर्ण
  • शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र सांस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात गर्ने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुुवाटारमा आयोजित रक्षा मन्त्रालयको चालुु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालस्तरीय विकास समस्या समाधान समितिको बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले खोकनाको जग्गा विवाद मिलाउन राष्ट्रिय योजना आयोग, अर्थ, भौतिक पूर्वाधार तथा यातायात र रक्षा मन्त्रालय तथा नेपाली सेनालाई समन्वयात्मक पहल गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रवेशविन्दु ललितपुरको खोकनाको जग्गाको मुुआब्जा विवादमा सरकारलाई संस्कृति र जातविरोधी चित्रण गरेर आफ्ना निहित फाइदा उठाउनेलाई सम्झाउनुपर्ने समेत बताए ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले जातीय लडाइँ सिर्जना गर्दा राष्ट्रिय एकता ध्वस्त हुने भएकाले सबै मिलेर यस्ता समस्याको समाधान गरी सबै जातिको उत्थान गर्नुपर्नेमा जोड दिए ।

बैठकमा मन्त्रालयको प्रगति समीक्षा प्रस्तुत गर्दै सचिव रेश्मीराज पाण्डेले गत कात्तिकसम्म ३४ दशमलव ५७ प्रतिशत प्रगति भएको जानकारी दिए । मन्त्रालयस्तरमा चालु आर्थिक वर्षमा २१ माइलस्टोन रहेकामा १६ वटामा हरियो सङ्केत प्राप्त भएको उनले बताए ।

उनले राष्ट्रिय सुरक्षा नीतिको कार्ययोजना स्वीकृत भई कार्यान्वयनका चरणमा रहेको र राष्ट्रिय प्रतिरक्षा नीति राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भई मन्त्रिपरिषद्मा पेश हुने क्रममा रहेको पनि जानकारी दिए । त्यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रम र आयोजनाहरुका लागि सेनालाई पर्याप्त बजेट उपलब्ध गराउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

अर्थपूर्ण मिडिया प्रा.लि.
अनामनगर, काठमाडौं
सम्पर्क : 9843147644

अर्थपूर्ण मिडिया प्रा.लि.  द्वारा संचालित www.arthapurna.com का लागि

सम्पादक : अम्बिका घिमिरे ।


© copyright 2021 and all right reserved to Artha Purna Site By : SobizTrend Technology